Navigation
मानव तस्करीको नयाँ रुट मिजोरम–म्यान्मार हुँदै खाडी मुलुक पछिल्लो समय मानव तस्करले नयाँ–नयाँ रूट प्रयोग गर्दै नेपाली महिलालाई कतार, साउदी अरब, कुवेत, बहराइनलगायत मुलुक पठाउने गरेका छन् । पर्वत पोर्तेल Comments १० मिनेट अध्ययन अवधि

नुवाकोट, ककनी–६ की पार्वती वाइवा (३९), २०७६ साल वैशाख ११ गते बिहानै बसबाट पूर्वोत्तर भारत, मिजोरम राज्यको अइजोल सहर ओर्लिइन् । करिब २० घन्टा लामो यात्राले थकित थिइन् उनी।

पहाडी राज्य मिजोरमको अइजोल कंक्रिटको सहरजस्तो देखिन्छ। जता हेरे पनि घरैघर। पहाडमा लगेर थपक्क थुपारिएका जस्ता । अग्ला, मझौलो र चिटिक्क परेका घर ।

आराम गर्नका लागि भन्दै उनलाई बसपार्क नजिकैको लीला होटल लगियो। त्यहाँ रहेका दलाल बलबहादुर कडरियाले चाँडै म्यान्मार हुँदै खाडी मुलुक पुर्‍याउने आश्वासन दिए ।

उनले पार्वतीलाई एक–दुई दिन होटलमै आराम गर्न भने । म्यान्मारको लाइन क्लियर हुनेबित्तिकै त्यहााबाट हिँड्ने आश्वासन दिए । कडरियाले भनेअनुसार कहाा हुनु र !

एक, दुई, तीन हुँदै पार्वती अइजोल आएको १० दिन बित्यो । अहँ, म्यान्मारतिर जाने छाँट देखिएन ।

उनलाई दिन काट्न असाध्य गाह्रो हुन्थ्यो । होटलमा खायो, बस्यो अनि सुत्यो गर्दै दिनहरु बिते ।

वैशाख २० गते अचानक कसैले होटलको ढोका ढक्ढकायो। उनले सोचिन् कि अब म्यान्मार जानुपर्ने दिन आएछ । तर, उनको अनुमान गलत सावित भयो ।

प्रहरीले मानव तस्करीको गोप्य सूचना पाएर होटलमा छापा मारेको थियो। प्रहरीले छापा हानेसागै पार्वतीको विदेश उड्ने सपना चकनाचूर भयो ।
म्यान्मारको बाटो हुादै खाडी मुलुक जान लागेका पार्वतीसहित २३ महिलालाई प्रहरीले नियन्त्रणमा लियो। २०७६ साल वैशाख २६ गते उनीहरुलाई नेपाल सरकारको रोहवरमा माइती नेपाललाई जिम्मा लगाइयो ।

टोलीमा २०–३० वर्ष उमेर समूहका ८ जना, ३१–४० वर्ष उमेर समूहका ११ जना र ४१–५० वर्ष उमेर समूहका ४ जना महिला थिए। प्रहरीका अनुसार उनीहरूमध्ये ४ जना झापा, ३ जना रूपन्देही, २ जना सुर्खेत, २ जना नवलपरासी, २ जना काठमाडौंलगायत स्थानका थिए ।

पार्वतीको मात्र होइन, उद्धार गरिएका अन्य महिलाको पनि उस्तै पीडा छ ।

भारत र म्यान्मारको सिमाना जोखोथार अइजोलबाट १ सय ८८ किलोमिटर टाढा छ। भारत र म्यान्मारका बासिन्दालाई यो नाका वारपार गर्न कुनै रोकटोक छैन ।

२०७६ साल वैशाख १९ का दिन नाकामा ड्युटी खटिएका थिए, असम राइफलका मेजर तरुण कुावर । उनले नेपाली भाषी महिलाको दोहोरीलत्ता देखे । आफू पनि नेपालीभाषी भएकाले उनले केहीलाई बोलाएर सोधे ।

ती महिलाले आफूहरु खाडी मुलुक जान लागेको निर्धक्क सुनाएछन् । उनीहरुका धेरै साथी अइजोलामै रहेको कुरा प्रहरीले पत्ता लगाएछ र
तरुणलाई लागेछ, ''कतै मानव तस्करी त भइरहेको छैन ?''

उनले तत्कालै अइजोलका सुरक्षाकर्मीलाई खबर गरे । प्रहरीले त्यहााका विभिन्न होटलमा छापा मार्‍यो । तरुणको अनुमान सही निस्कियो । नेपाली महिलालाई त्यहाँबाट म्यान्मार हुँदै खाडी मुलुक पठाउन सेटिङ मिलाउने दलाल कडरिया पक्राउ परे ।

मिजोरम प्रहरीका अनुसार म्यान्मारतर्फ मानव तस्करको सञ्जाल छैन। बरु नेपाली तस्करले सिमावर्ती क्षेत्रका नेपालीभाषीको सहयोगमा म्यान्मारसम्म पहुँच बढाउन खोजिरहेका छन् ।

मिजोरमको प्रान्तीय राजधानी अइजोल जिल्ला पुलिसका तत्कालीन सुपरिटेन्डेन्ट अफ पुलिस अफिसर (एसपी) कार्तिक कश्यपले नेपाली महिलालाई अवैधानिक तरीकाले खाडी मुलुक पुर्‍याउने क्रममा म्यान्मारको अध्यागमनसम्म लैजान दलालले सिमावर्ती भारतीय गाउँका नेपालीभाषीसँग साँठगाँठ गर्ने गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

उनले भने, ''मिजोरमको नाका र मणिपुरको मोरे नाकामा उस्तै प्रवृत्तिवाट मानव तस्करी भएको पाइयो।'' कश्यपले म्यान्मारतिर मानव तस्करीको कुनै गिरोह सक्रिय नरहेको दाबी गरे। उनले थपे, ''म्यान्मारको सीमा र म्यान्मारमा समेत नेपालीभाषी बस्ने भएकाले तस्करलाई सीमा पार गर्न सजिलो भएको देखियो ।''


पछिल्लो समय मानव तस्करले अवैधानिक रुपमै नयाा रुट प्रयोग गर्दै नेपाली महिलालाई कतार, साउदी अरेबिया, कुवेत, बहराइनलगायत खाडीका विभिन्न मुलुक पठाउँदै आएको सरकारी अधिकारीको भनाइ छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालका अनुसार मानव तस्करले हरेकपटक रुट परिवर्तन गरी नेपाली महिलालाई खाडी मुलुक पठाउने गरेको पाइएको छ ।

''सीमा वारपार गर्न सजिलो भएकाले तस्करले काठमाडौं–मिजोरम–म्यान्मार रुट प्रयोग गरेको देखिन्छ'', उपसचिव भुसाल भन्छन्, ''मणिपुर र मिजोरममा नेपालीभाषीको बाक्लो बसोबासका साथै पारि म्यान्मारमा समेत नेपालीभाषी रहेकाले विभिन्न बहाना वनाएर सीमा वारपार गर्न सजिलो भएको देखिन्छ ।''

मानव तस्करीबारे कलम चलाउँदै आएकी भारत, सिलिगुडीकी पत्रकार अनुराधा शर्माले तस्करहरुले हरेकपटक नयाँ–नँ रुट तथा उपाय खोजी गर्दै गएको बताइन्। ''उनीहरु नयाँनयाँ उपाय खोजेर तस्करी गरिरहेका छन्,’ उनले भनिन्, ‘तर, सरकारी निकाय भने पुरानै संयन्त्रबाट परिचालित छन् ।''

शर्माका अनुसार मानव तस्करीको मुद्दा नेपाल र भारतको साझा समस्या हो। तर, यसलाई साझा समस्या ठानिएको छैन। उनले थपिन्, ''दुवै देशले मिलेर काम गर्ने हो भने समाधान गर्न गाह्रो छैन ।''

आइजोलमा समातिएका २३ जना महिलामध्ये १६ जना पहिल्यै विदेश गएर फर्किएका थिए। सातजना महिला भने पहिलोपटक विदेश जान लागेका थिए ।

ककनीकी पार्वती दोहोर्‍याएर विदेश जान लागेका महिलाको सूचीमा थिइन्। लेवनान र कुवेतमा चार वर्ष बिताएकी उनी यसपटक पनि कुवेत जान लागेकी थिइन् ।


ककनीदेखि आइजोलसम्म

चिनजानकै एकजना दिदीले उनको मोबाइलमा म्यासेज पठाइन् । कुवेतबाट नेपाल आएकी उनले पार्वतीलाई भेट्न चाहेको बताइन् ।

ती दिदीसँग चिनाजान कुवेतमै भएको थियो। देखाभेट भएको थिएन। बिदामा घर आएर फर्कने सुरसारमा थिइन् उनी।

पार्वती दुई वर्ष कुवेतमा बिताएर फर्किएको डेढ वर्ष बित्न लागेको थियो । कुवेतको कमाइ बचाउन सकिनन् उनले ।घर फर्किएपछि आर्थिक संकटले गाँज्यो ।

यही मेसोमा धादिङ घर भएकी ती दिदीले फोनबाटै भनिन्, ''जाने भए म पठाइदिउँला ।''

मनमनै सोचिन् ''बरु, एक–दुई वर्ष विदेश बस्छु, अलिकति कमाएर फर्किन्छु ।''

पार्वतीका अनुसार दिल्लीमा रहेका दीपक नामको नेपाली दलालसँग उनको फोन सम्पर्क भयो । दलालले ती दिदीलाई उनलाई पनि सँगै लिएर दिल्ली आउन भन्यो ।

चैत अन्तिम साता काठमाडौं, नयाँ बसपार्कबाट नेपालगन्जका लागि गाडी चढिन् पार्वती । साथमा ती दिदी पनि थिइन् ।

नाकामा प्रहरीले सोधिहाले ''आफन्त भेट्न गएकी भन्नु'' भनेर उनलाई सिकाइयो ।

नेपालगन्जको जमुनाह नाकामा तैनाथ प्रहरी र माइती नेपालका कर्मचारीले सोधे । त्यसै भनेर त्यहााबाट उम्किइन् । पारि रुपैडिया बसपार्कबाट दिल्लीको बस चढेकी मात्रै के थिइन्, भारतीय सुरक्षाकर्मी सोध्दै आए ।

''आफन्त भेट्न दिल्ली गएकी'', उनले जवाफ दिइन् ।

उनलाई लैजाने ती दिदीले पनि उसैगरी झुट बोलिन् । ''दिदीले दिल्लीस्थित पहाडगन्जको एक होटलमा पुर्‍याउनुभयो'', पार्वतीले सुनाइन्, ''होटलमा अरु धेरै महिला पनि थिए । यो देखेर ढुक्क लाग्यो ।''

नेपालका विभिन्न स्थानबाट ल्याइएका महिला त्यहाा राखिएको रहेछ । उनीहरुमध्ये कोही एक महिना–डेढ महिनादेखि पनि बसिरहेका थिए ।
ती दिदीले पार्वतीलाई दीपकसँग भेट गराइन् । उनी भने त्यसको भोलिपल्टै कुवेत उडिन् । उड्नु अघि भनिन्, ''अब उतै भेटौला है!'' दीपकले म्यान्मारको भिसा लाग्नेबित्तिकै उडाउने आश्वासन दिए ।

त्यहाँ १० दिन बसेपछि दीपकले खबर गरे, ''दिल्लीबाट उड्न गाह्रो भो, अब मिजोरमबाट जानुपर्ने भो ।''

यसरी वैशाख पहिलो साता पार्वती दिल्लीबाट गुवाहटीको रेल चढिन् । रेलमा करिब ३५ घन्टामा १ हजार ९ सय ३२ किमी यात्रा गरेपछि उनी गुवाहटी पुगिन् ।

गुवाहटीमा उनी एक रात बसिन् । त्यहाँबाट करिब ५ सय ९३ किमी यात्रा तय गरेपछि अइजोल पुगिन् ।

पार्वतीको विगतको कथा दु:खले भरिएको छ । त्यही भएर कुराकानी गर्दा पनि उनको अनुहारमा खुसीभन्दा दु:ख अनुभव गर्न सकिन्थ्यो ।

१३ वर्षअघि ब्लड क्यान्सरले पतिको मृत्यु भएपछि तीन लालाबाला हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी उनको काँधमा आयो ।

दैनन्दिनको आर्थिक समस्या, हुर्किदा छोराछोरीको बढदो खर्च धान्न विदेश लागिन् उनी ।

बालबच्चा माइतीको जिम्मा लगाएर उनी २०६८ सालमा लेवनान उडिन् । त्यस बेला पासपोर्ट बनाउन मात्रै उनको खर्च भयो । सबै खर्च दलालले व्यहोर्‍यो ।

लेवनानमा दुई वर्ष बिताइन् । काम खासै गाह्रो थिएन । तर, घरबाट बाहिर निस्किनचाहिँ गाह्रो थियो ।

नानीहरुलाई पढ्ने खर्च निरन्तर पठाइन् । घरमालिकले मासिक १० हजार तलब दिन्थे। खान र बस्न खर्च लाग्दैनथ्यो ।

''महिनैपिच्छे तलब थापेर घर पठाउथो'', उनले सुनाइन्, ''दुई वर्षको सबै कमाइ नानीहरुको पढाइमै खर्च भयो ।''

लेवनानबाट फर्किदा उनको साथमा २५ हजार रुपियाँ मात्र थियो ।

त्यसो त पार्वती विदेश नजाने भनेर फर्किएकी थिइन् । तर, बग्रेल्ती घरायसी समस्या थिए ।

जानैपर्ने बाध्यता भयो । दोस्रोपटक उनी कुवेत उडिन् ।

कुवेतको कमाइले पनि छोराछोरी पढाइन् । नानीहरु हुर्किन थालिसकेका थिए । विदेशमै रहादा उनले छोरा कुलतमा फसिसकेको थाहा पाइन् ।
उनले दु:खेसो सुनाइन्, ''छोराछोरीकै लागि भनेर यत्रो दु:ख गरो, तर, उनीहरु नै सही बाटो हिँडेनन् ।''

२०७२ सालको भूकम्पका वेला उनी कुवेतमै थिइन्। उनका घर पूर्ण रुपमा भत्कियो। विदेशबाट फर्किएर राहतका लागि पहल गरे पनि उनले अझै पाएकी छैनन्। एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित छिन् पार्वती।

मिजोरमबाट उद्धार भएपछि पार्वती घर पुगिन्। केही दिन बसेर काठमाडौं फर्किइन् । उनी जोरपाटीको एउटा निजी कारखानामा गलैचा बुन्दैछिन् ।

''महिनाको १०–१२ हजार हुन्छ'', पार्वतीले दु:ख साटिन्, ''दाल –भात खान पुग्छ, अब विदेश चाहिँदैन, यहीँ ठिक छ।''


धार्मिक मेलाको बहानामा सीमा कटाउने रणनीति

मिजोरमको प्रवेश नाका भैरङ्थेमा इनर लाइन परमिट (आइएलपी) बनाउनुअघि पार्वतीको हातमा एउटा प्रमाणपत्र थमाइयो। प्रेस्विटेरियन चर्च अफ इन्डियाको नाममा जारी लोगोसहितको प्रमाणपत्रमा ''मिजोरम सिनोद, बप्तिस्मा प्रमाणपत्र'' भनी लेखिएको छ। बप्तिस्मा इसाई समुदायमा एक धर्मवाट अर्को धर्म प्रवेश गरिने प्रक्रिया हो।

भारतमा प्रेस्विटेरियन चर्चको सुरुवात गर्ने राज्य मिजोरम नै हो। यो प्रोटेस्टेन्ट इसाईहरुको धार्मिक संगठन हो। भारतको मुख्यालय चाहिँ मेघालयको सिलोङमा छ।

होटलबाट नियन्त्रणमा लिएका महिलालाई सोधपुछ तथा खानतलासी गर्दा प्रहरीले बप्तिस्मा प्रमाणपत्र फेला पारेको थियो। प्रमाणपत्रमा डेबिट क्षेत्रीको हस्ताक्षर छ।

आइजोल जिल्ला प्रहरीका एसपी कश्यपका अनुसार सबै महिलालाई इसाई धार्मिक मेलाको बहानामा मिजोरम ल्याएर म्यान्मार हुादै खाडी मुलुक लैजान लागिएको थियो। केही समयदेखि यो रुटबाट नेपाली महिलालाई खाडी तस्करी गरिँदै आएको खुलेको त्यहााको प्रहरीले जनाएको छ।

कश्यपका अनुसार अभियुक्त कडरियाको बयानका आधारमा नयाँ दिल्लीमा बस्ने एजेन्टहरु राम तामाङ (सुनसरी, धरान) र लक्ष्मण मगर (गौशाला, काठमाडौं) मार्फत् पार्वतीलगायत महिलालाई म्यान्मारको रुटबाट खाडी पठाउन लागेको थाहा भएको छ ।

झापाका कडरिया सुरुमा ठाउँ हेर्न मिजोरम आएको र पछि थप दुईजना दलालसहित एक रात बसेर फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
''उनीहरु फर्किएर गएको दुई दिनपछि नेपाली महिला त्यहाा आउने क्रम सुरु भयो'', प्रहरी अनुसन्धानमा भनिएको छ ।


गन्तव्य खाडी र इराक

मणिपुरको मोरेमा नेपालीभाषीको बाक्लो बसोबास छ। यो सानो बजारमा धेरै भाषा बोल्नेहरु छन्। तर, बर्मेली भाषाकै पकड बलियो छ।
पारि बर्मा अर्थात म्यान्मार छ। ‘इन्डो–म्यान्मार फ्रेन्डसिप गेट’ नाघेर गएपछि अर्को देश म्यान्मार पुगिन्छ।

सीमा क्षेत्र भएकाले वारि र पारिका व्यापारीको बाक्लो भीड देखिन्छ। बिहान १० बजेदेखि नै त्यहाँको बजार गुल्जार हुन्छ। दुई नबज्दै बजार बिस्तारै मुर्झाउँदै जान्छ। तीन बजे त सुनसान नै भइसक्छ।

''चार बजेपछि नाका वारपार गर्न मिल्दैन'', म्यान्मारका नेपालीभाषी व्यवसायी कुमार रेग्मीले भने।

वैशाख २० को मिजोरम घटना भन्दा ठिक तीन महिनाअघि २०७६ साल माघ १६ मा मणिपुरवाट म्यान्मार छिर्ने पालो कुरेर पर्खिएका १ सय ४७ महिलामध्ये केही समूह मोरे नाकामा रोकिएका थिए, बाँकी इम्फालका होटल र लजमा। उक्त समूहमा ३२ जना पुरुष पनि सागै थिए।

प्रहरीका अनुसार १ सय ४७ महिलामध्ये १९–२० वर्ष उमेर समूहका ८ जना, २१–३० वर्ष उमेर समूहका ६७, ३१ –४० वर्ष उमेर समूहका ४८ र ४१–५० वर्ष उमेर समूहका २४ जना थिए। मानव तस्करको फन्दामा परेर हिँडेकामध्ये ५७ जनाको गन्तव्य प्रतिबन्धित मुलुक इराक थियो। यसरी इराक जाने टोलीमा ४१ जना महिला रहेका मानव बेचविखन नियन्त्रण व्युरोका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले जनाए।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी प्रकाश अधिकारीका अनुसार अवैध रुपमा खाडी पठाउन लागिएका महिला तथा पुरुषलाई मानव तस्करले मणिपुर–म्यान्मारको सीमा बजार, टेंगनैपाल जिल्लाको मोरे बजार क्षेत्र, इम्फाललगायतका होटल तथा लजमा राखेका थिए। बेचबिखनको उच्च जोखिममा रहेका उनीहरूलाई गोप्य सूचनाका आधारमा उद्धार गरिएको थियो।

उनीहरू नेपालबाट विभिन्न नाका पार गरेर दिल्ली र दिल्लीबाट जहाजमा इम्फाल पुगेका थिए। केहीले झापाको काँकडभिट्टा नाका प्रयोग गरेको पाइएको थियो भने कतिपयले नेपालगन्ज, भैरहवा नाका पनि प्रयोग गरेको भेटियो। काँकडभिट्टा पूर्वोत्तर भारत, भुटान र बंगलादेश प्रवेशका लागि सहज नाका हो।

मणिपुरका सामाजिक कार्यकर्ता अर्जुन जोगीका अनुसार मणिपुरकै कांग्लातोम्बी शान्तिपुरका यातायातकर्मी तुलाराम संग्रौलाले महिलाहरुलाई मणिपुरसम्म पुर्‍याएका थिए। नाका छिचोलेर भारत पुगेकालाई मणिपुर पुर्‍याउने काम गरेको मणिपुर प्रहरीसँग उनले स्वीकारेका थिए।

मानव तस्करीमा संलग्न आरोपमा करिब २० दिन हिरासत बसेर छुटेका संग्रौलाले महिलालाई होटलमा लगेर राख्ने काम पनि आफैले गरेको बताएका थिए।

मोरेका २७ वर्षीय आकाश आचार्य १८ दिन हिरासतमा बसेर छुटेका थिए । आचार्यका अनुसार ठाउँ बुझ्न मदन खरेल मोरे आएका थिए। केही दिन मोरेको होटलमा बसे।

खरेलले आकाशसँग नाता गाँसे। ''मेरी आमा भट्टराईकी छोरी भएकीले खरेल र भट्टराईको गोत्र एउटै भएको भन्दै उनले मेरी आमालाई बैनी र मलाई भान्जा भन्ने नाता लगाए'', आचार्यले सुनाए।

आचार्यका अनुसार केही दिनपछि खरेलले आकाशलाई भने, ''विदेश जान चाहने केटीहरू आउँछन्; तपाईंले पारि वर्मेली भाषा बोलेर सहयोग गर्दिनुपर्‍यो।''

आकाशले आग्रह नकार्न सकेनन्। म्यान्मारतिरका अध्यागमन कार्यालयका कर्मचारीसँग बर्मेली भाषा वोल्ने काम थियो आकाशको। ''नेपाली दाजुभाइको नाताका आधारमा मात्रै सहयोग गरेको थिएँ, मेरो कुनै लेनदेन थिएन'', उनले प्रष्टीकरण दिए, ''मोरेको एजेन्ट भनेर फासाइयो।''

उनका अनुसार यो रुट चार वर्षअघि अक्टोबरदेखि खुलेको थियो। त्यस अवधिमा करिब ३ सय नेपाली महिला र पुरुषलाई म्यान्मार पठाइसकिएको थियो। नयाँदिल्लीस्थित नेपाली दूतावासका एसएसपी अधिकारीले खाडीलगायत अन्य मुलुकमा नेपाली महिलाको माग उच्च रहेको र मानव तस्करले माग पूरा गर्न पूर्वोत्तर भारतका राज्य हुँदै म्यान्मारबाट धन्दा सुरु गरेको बताए।

उनका अनुसार दिल्ली विमानस्थलमा अध्यागमनलाई कडाइ गरिँदै ''नो अब्जेक्सन सर्टिफिकेट'' (एनओसी) अनिवार्य गरिएको छ। पछिल्लो समय दलालले पैदल मार्गबाट म्यान्मार पुर्‍याउने, श्रीलंका ट्रान्जिट बनाएर खाडी तथा मध्यपूर्वका देश पुर्‍याउने काम हुँदै आएको उनको भनाइ छ।

म्यान्मारको टमु क्षेत्रमा सन् २०१५ अक्टोबरदेखि अध्यागमन कार्यालय स्थापना गरिएको थियो। म्यान्मारले अनलाइनमार्फत् अन˗अराइभल भिसासमेत दिन थालेपछि यो रुटको प्रयोग गर्न थालिएको हो। ''अनलाइन भिसा आवेदन गर्ने, अनि भिसा लागेपछि मान्छे म्यान्मारतिर ओसार्न सहज रहेछ'', एसएसपी अधिकारीले भने। उनका अनुसार म्याानमारको टमुबाट बसमा रंगुन पुर्‍याउने र रंगुनबाट कोलम्बो उडाउने। ''कोलम्बोलाई ट्रान्जिट बनाएर खाडी तथा अन्य देशमा पुर्‍याउने गरेको पाइएको छ'', अधिकारीले भने ।


मानव तस्करीको सञ्जाल

मानव तस्करीको आरोपमा केही नेपाली मणिपुरको सजिवास्थित सेन्टल जेलमा थिए । गत भदौ ३ मा छुटे । जेलका एसपी एस. थौथाङका अनुसार अभियुक्तहरु ललितबहादुर कार्की (कोहवरा, झापा), राजीव श्रेष्ठ (नयाँ दिल्ली), थमनसिंह दमाई (खैरेनीटार, तनहुँ), अनिल विके ( पोखरा), आशाकाजी लामा तामाड, (ठेगाना नखुलेका) मदनकुमार खरेल (पृथ्वीनगर, झापा) र सुस्मिता विश्वकर्मा (कानेपोखरी, मोरड) करिब ६ महिना जेल बसेर हालै धरौटीमा छुटेका छन् ।

प्रहरी रिपोर्टअनुसार अभियुक्त झापा, कोहवराका कार्की काठमाडौको मंगोलियन ओभरसिजका दलाल हुन्। उनी केही समयदेखि म्यानपावरमा आवद्ध छन्। म्यानपावरका मुख्य सञ्चालक मोरङका डम्बर लिम्बू हुन्। कार्कीले गाउँबाट मान्छे लगेर लिम्बूलाई वुझाउने र त्यसबापत प्रतिव्यक्ति ५ हजार रुपैयाँ कमिसन पाउने गर्थे।

२०७४ सालमा गौरादहका सुरेन्द्र खड्का (२३) थर नखुलेका सोही स्थानका कमल (२३) र कोहवरा झापाकी तारा विक (२५) लाई यही म्यानपावरमार्फत् उनले विदेश पठाएका थिए।

एक वर्षअघि ममता मगर (२३) र यशोदा मारापाचे (२१) लाई विदेश पठाउन मंगोलियन ओभरसिजमार्फत् प्रक्रिया अगाडि बढाए। वर्ष दिनअघि विदेश जाने प्रक्रियामा रहेका उनीहरूलाई मणिपुर केस्यमपातको होटल जङ्सनबाट जम्वो टोलीसँगै उद्धार गरिएको थियो।

मंगोलियन म्यानपावरका सञ्चालक लिम्बूले मणिपुरबाट म्यान्मार हुँदै कुवेत लाने सल्लाह आफूलाई दिएको कार्कीले प्रहरीसँग बयान दिएका छन्।
२०७६ साल माघ १७ का दिन लिम्बू दिल्लीबाट इम्फाल ओर्लिएका थिए । जङ्सन होटलमा ६२ जना महिला थिए।

लिम्बू एक दिन होटलमै बसे। कागज मिलाउँछु भनेर निस्किएका उनी फर्किएर आएनन्। ''होटल छाड्नेबित्तिकै पुलिसले उनलाई समातेको हो'', कार्कीले भनेका छन् ।

अभियुक्तद्वय राजीव र सुस्मिताले आफूहरू पति–पत्नी भएको बताएका छन्। उनीहरू चाहिा विदेश जान चाहने लाई काठमाडौंकै दलाल ४१ वर्षीय युवराज राईसाग सेटिङ मिलाइदिन्थे।

रुट सुरु हुनुअघि नै उनीहरूले मोरेमा आउजाउ गरेका थिए। एक पटक मोरेको सांघाइ होटलमा तीन दिन बिताएर रुट बुझेर इम्फाल फर्किएको थियो यो जोडी। अर्को पटक दलाल राईले मोरे आउने वचन दिए। तर, पााच दिन बस्दा पनि उनी नआएपछि निरास भएर फर्किएका थिए।

नेपालका ग्रामीण भेगका अशिक्षित, गरीब र पिछडिएका समुदायका महिलालाई दलालले प्रलोभनमा पारेर तस्करी गर्ने गरेको निष्कर्ष मणिपुर प्रहरीको थियो ।

अघिल्लो घटनाको ९ महिनापछि पुन: यही रुट प्रयोग गरी तस्करी सुरु भएको छ । म्यान्मार हुँदै खाडी मुलुक लैजान लागिएका ७ नेपाली महिलालाई मंसिर १ मा मोरेको प्रहरीले उद्धार गरेको थियो ।

उद्धार गरिएका महिला २१–४१ वर्ष उमेर समूहका थिए। अघिल्लो घटनाका अभियुक्त ललितबहादुर कार्की करिब ६ महिना जेल बसेर निस्किएलगत्तै पुन: यही काममा संलग्न भएको पाइएको छ। कार्की यसपटक भने प्रहरी फन्दाबाट उम्किन सफल भएका छन्।


शैली फेर्दै सीमा कटाउँदै

२०७६ साल जेठ ३ मा नेपालगन्जको जमुनाह–रुपैडिया नाकाबाट दिल्ली जान भनी पारि तरिसकेका चितवनका ६ महिलालाई प्रहरीले रोक्यो। सबैलाई मोटरसाइकलमा राखेर नाका पार गराइएको थियो। जमुनाहा प्रहरी कार्यालयका तत्कालीन नायव निरीक्षक वसन्त बस्नेतले भने, ''दलालले शैली बदलेर सीमापार गराउने गर्छन् ।''

गिरोहले मोटरसाइकल, रिक्सा, साइकल र पैदलै हिाडाएर पनि सिमाना कटाउने गरेका छन्।

प्रहरी नायव निरीक्षक बस्नेतका अनुसार दाङको तुलसीपुरबाट दिल्लीमा सोझो वस सेवा भएकाले अक्सर बसमार्फतै महिलालाई दिल्ली पुर्‍याउने गरिएको पाइएको छ।

यता पूर्वी नाका काँकडभिट्टाको कथा चाहिा झनै रोचक छ। गत वर्ष भिआइपी गाडीमा राखेर भारत कटाउन लागिएका दुई चेलीलाई ‟साना हातˮ नामक संस्थाका कार्यकर्ताले नियन्त्रणमा लिए।

साना हातका प्रमुख रमेश गुरुडका अनुसार गाडी भिआइपी थियो। चालक पनि धनाढ्यजस्तै देखिन्थे। गाडीको पछिल्लो सिटमा दुई युवती थिए। तर, उनीहरू एकअर्कालाई चिन्दैन थिए।

शंंका लागेर सोधपुछ गर्दा थाहा भयो– उनीहरूलाई खाडी पठाउन सीमा कटाउन लागिएको रहेछ। प्रहरीको सहयोगमा दलाललाई पक्राउ गरियो। दलाल झापा कारगारमा कैद भुक्तान गर्दैछन्। युवतीलाई भने अभिभावकको जिम्मा लगाइयो।

गुरुड भन्छन्, ''अचेल महिलालाई हिाडाएर नाका कटाइँदैन, यस्तै भिआइपी गाडीमा राखेर कटाइन्छ ।''

नेपाल र भारतबीच करिब १ हजार ६ सय ९० किलोमिटर सिमाना जोडिन्छ। खुला सीमाको फाइदा उठाउादै गिरोहले महिलालाई नाका कटाउँछ।
मूलत : काँकडभिट्टा–पानीट्यांकी, विराटनगर–जोगबनी, धनुषा– जयनगर, वीरगन्ज–रक्सौल, रुपन्देही–सुनौली, नेपालगन्ज–रुपैडिया, कैलाली–गौरीफन्टा र कञ्चनपुर– गड्डाचौकी नाकाबाट दैनिक हजारौँ सर्वसाधारण आउजाउ गर्छन्।

ती नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लै छ। नाकामा दुईदेखि आधा दर्जन गैरसरकारी संस्था तैनाथ छन्। तर, गिरोहले सबैको आँखा छलेर नाका तार्छ।

गिरोहले पूर्वको काँकडभिट्टा–पानीट्यांकी, भद्रपुर–गलगलिया र इलामको पशुपति–मिरिकको नाका बढी प्रयोग गरिरहेको छ। बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै सबैभन्दा नजिकको भारतीय विमानस्थल हो। पूर्वी सिमाना काँकडभिट्टाबाट यसको दूरी करिब २० किलोमिटर मात्रै छ। यो विमानस्थललाई ‘फस्ट स्टेप अफ ट्राफिकिङ’ पनि मानिन्छ ।

भारतकी सिलिगुडीस्थित कञ्चनजंघा उद्धार केन्द्रकी उपाध्यक्ष रंगु सौरियाका अनुसार अवैध ढंगवाट भारत हुादै दिल्ली उड्न लागेका १ सय ३० जना महिलालाई गत वर्ष रोकेर नेपाल फर्काइएको थियो । पासपोर्ट र श्रम स्वीकृति नभएका तर विदेश जान लागेको बताउने महिलालाई रोकेर नेपाल फर्काइएको सौरियाले जानकारी दिइन्।


यसरी बेचिन्छन् महिला

गाउँले दलालले सपना बााड्छ । पैसा मनग्ये हुने, मेसिनले काम गर्ने भएकाले केही गाह्रो काम गर्नु नपर्ने आदि। यस्तै लोभले महिला फास्छन्।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका डिएसपी राजकुमार सिलवालले भने, ''अर्कोतर्फ, सबै थाहा पाएर पनि जानाजान फस्नेहरू पनि छन्। कोही बाध्यताले फस्छन्, कोही रहरले ।''

उनका अनुसार महिला बेचिने क्रम गाउँबाटै सुरु हुन्छ। गाउँले दलालले सहरका मेनपावरलाई वेच्छ अनि कमिसन पाउँछ। सहरको दलालले दिल्ली पुर्‍याउादा कमिसन पाउँछ।

त्यसपछि दिल्लीबाट खाडी तथा तेस्रो मुलुकमा पुर्‍याइन्छ। दलालले यसबाट झनै बढी कमिसन पाउँछ। खाडीको दलालले महिलालाई त्यहाँका घरमालिकलाई बेच्छ ।

महिलालाई यसरी बेचिएको कुरा थाहै हुँदैन। खाडी पुगेपछि महिलामाथि मालिकले शारीरिक तथा मानसिक शोषण गर्ने सिलवालको भनाइ छ ।

दिल्ली या अन्य नाकाबाट खाडी पुर्‍याइएका महिलालाई बन्धकजस्तै बनाएर राख्ने गरेको भेटिएको छ । त्यहाँका घरधनीले महिलालाई यौनजन्य गतिविधिका लागि पैसा तिरेर किन्ने गर्छन्। ''यसरी त्यहाँ पुर्‍याइएका महिलालाई दुई वर्षका लागि ४–५ लाखसम्ममा खरिद गर्ने गरिएको पाइएको छ'', सिलवाल भन्छन् ।


प्रतिबन्ध लगाएपछि अवैधानिक बाटो

सरकारले २०७२ साल फागुनदेखि महिला या पुरुषलाई घरेलु कामदारका रूपमा मलेसिया या खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ। तर, अवैधानिक बाटोबाट कामदार ती मुलुक जाने क्रम रोकिएको छैन ।

वैदेशिक रोजगार विभागले ४९ म्यानपावर कम्पनीलाई घरेलु कामदार पठाउन सूचीकृत गरेको थियो। तीमध्ये ३२ कम्पनीले विभागबाट कामदार पठाउने इजाजतपत्र लिइसकेका थिए। ''जोखिम हुन नदिन सरकारले घरेलु कामदारलाई खाडी जान रोक लगाएको हो'', वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले भने, ''तर, अवैध रूपमा खाडी जाने सिलसिला रोकिएको छैन ।''


वैधानिक बाटो बन्द गर्दा झन् जोखिम

सुरक्षित आप्रवासन क्षेत्रका जानकार वसन्त कार्कीका अनुसार वैधानिक बाटो बन्द गर्दा झन् जोखिम बढेको छ। ''घरेलु कामदारलाई जोखिम भयो भनेर सरकारले खाडीमा कामदार बन्द गरायो, अहिले महिला जोखिम मोलेरै खाडी गइरहेका छन्'', कार्कीले भने । वैधानिक बाटो बन्द भएपछि अवैध रुटबाट तस्करी धन्दा फास्टाउँदै गएको उनको भनाइ छ ।

वैदेशिक रोजगार र श्रम विज्ञ पूर्णचन्द्र भट्टराईका अनुसार मानव तस्करी नियन्त्रणका लागि अन्तर्देशीय पहल जरुरी छ। सार्क राष्ट्रस्तरीय विभिन्न सन्धि–सम्झौता भए पनि कार्यान्वयन तहमा भने पुग्न नसकेको भट्टराई बताउँछन् ।

''मानव तस्करीविरुद्ध नेपाल र भारतबीच साझा अवधारणा र नीति हुनुपर्छ'', उनले भने। आवरणमा वैदेशिक रोजगारी देखिए पनि भित्री रूपमा मानव तस्करीको व्यापार नेपालमा व्याप्त रहेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस