भोलिपल्ट बिहान अचानक श्रीमान्को मृत्युको खबर आएपछि सीताले आफूलाई सम्हाल्नै सकिनन् ।
सुरुमा त उनलाई विश्वासै लागेन । चेन्नईमै काम गर्ने उनका आफन्तबाट मृत्यु भएको जानकारी पाएपछि विश्वास नगरी भएन । ''खबर सुनेपछि म रिंगटा आएर ढलिहालें'', छ वर्षअघि जीवनमा आइलागेको पीडा सम्झँदै सीताले भनिन् । उनका अनुसार राति राम्रै सुतेका अनिल बिहान मृत भेटिएका थिए । मृत्युको कारणबारे परिवारले केही थाहा पाएनन् ।
श्रीमानको मृत्युपछि शव बुझ्न आफन्तसँगै सीता पनि चेन्नई गएकी थिइन् । अनिलको त्यहीं अन्तिम संस्कार गरेर फर्किइन् । अन्तिम संस्कारपछि होटल मालिकले किरिया खर्च भनेर सीतालाई ५० हजार रुपैयाँ दिएको थियो । ''किरिया सकेर आउनु, त्यसपछि थप आर्थिक सहयोग गर्छु भनेको थियो'', सीताले सुनाइन्, ''किरिया सकेर दुईपटक चेन्नई गएँ, तर साहुले केही दिएन ।''
सीताका दुई छोरा छन् । अनिलको मृत्यु हुँदा कान्छो छोरा गर्भमै थियो । अहिले उनलाई छोराहरू कसरी पढाउने भन्ने चिन्ता छ । वृद्ध सासू–ससुराको रेखदेख पनि उनकै काँधमा छ । सीताले घर आँगनमै किराना पसल हालेकी छन् । सीमावर्ती भारतीय बजार बसइबाट सामान ल्याएर बेच्छिन् । त्यसैबाट जेनतेन घर खर्च चलेको छ ।
दुई वर्षअघि दिल्लीमा क्याटरिङ कम्पनीमा काम गर्ने तीन नेपालीको कन्टेनरमा निसासिएर मृत्यु भयो, जसमा दुई जना कञ्चनपुरको भीमदत्त नगरपालिकाका थिए । विवाहको पार्टीमा खाना खुवाउने काम सकिएपछि उनीहरू कन्टेनरमै सुतेका थिए । बाहिर चिसो भएका कारण सबै झ्यालढोका बन्द गरेका रहेछन् । भोलिपल्ट अबेरसम्म कन्टेनर नखोलिएपछि उनीहरूको खोजी गर्दा मृत अवस्थामा भेटिएका हुन् । आगो बालेको चुलो पनि भित्रै रहेकाले कार्बन ग्यास भरिएर मृत्यु भएको आशंका गरियो ।
मृतकका परिवारले तत्काल शव ल्याउन १५ हजार र पछि किरिया खर्चबापत १५ हजारबाहेक अन्य केही राहत तथा क्षतिपूर्ति पाएनन् । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१७ का अंकित धामी र वडा ११ का कमल धामी थिए । ''किरिया खर्चबाहेक अरू केही दिएन'', अंकितका बुवा मदनले भने, ''नातिनी लिएर बुहारी पोइल गई, घरको बेहाल भयो ।'' काम गर्न जाने बेपत्ता भएका मात्र छैनन्, कतिपयको कामकै दौरान मृत्यु भएको अवस्थामा पनि निजका परिवारले राहत, क्षतिपूर्ति वा बिमा रकम केही पाउने गरेका छैनन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाको रोजगारीको प्रमुख गन्तव्य अहिले पनि भारत नै हो । पुर्खाका पालादेखि (सुगौली सन्धि हुनुभन्दा अघिदेखि) चलिआएको यो चलन अहिले पनि जारी छ । खासगरी चाडपर्व र खेतीपातीका बेला घर फर्कने र अन्य समयमा पटके रोजगारीका लागि भारत पस्ने चलन रहेको छ ।
भारतमा ठूलो संख्यामा नेपाली कामदार भए पनि उनीहरूले बैंकबाट पैसा पठाउन सक्दैनन् । भारतीय बैंकहरूमा खाता खोल्न आधार कार्ड आवश्यक पर्छ । त्यसकारण नेपालीहरूले खाता खोल्न सक्दैनन् । भारत सरकारले ५ सय र २ हजारका भारु नोट २५ हजारसम्म नेपाली कामदारलाई लैजान दिने घोषणा गरेको छ । त्यसभन्दा बढी रकम ल्याउन भने सीमामा सास्ती हुने गरेको छ । घर फर्किंदा भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार सहनुपर्ने र ल्याएको सामानसमेत छाड्नुपर्ने अवस्था हुन्छ ।
लामो समय मजदुरी गरेर कमाएको पैसासँगै बोक्दा बाटोमै लुटिने गरेका घटनाहरू पनि प्रशस्त हुन्छन् । खासगरी दसैं तिहारका बेला नशालु पदार्थ खुवाएर बेहोस बनाई लुट्ने गरिन्छ । दसैं र तिहारको अवधिमा मात्रै बर्सेनि २०/२५ जना वर्षभरिको कमाइ लुटिएर अलपत्र अवस्थामा भेटिने गर्छन् ।
भारतको रोजगारी पुर्खौंदेखि चलिआएको हो । यसको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । सुगौली सन्धिअघिबाटै नेपालीहरू कामका लागि भारत जाने गरेको विभिन्न तथ्यहरूले देखाउँछन् । तर हालसम्म पनि यसलाई सरकारले वैदेशिक रोजगारीको सूचीमा राखेको छैन । यसकै कारण कामका लागि भारत जाने कामदारहरू विभिन्न सेवा सुविधाबाट वञ्चित हुने गरेका हुन् ।
उसो त पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा उनले भारतको रोजगारीलाई व्यवस्थित गर्न वैदेशिक रोजगारीसरह मान्यता दिने र भारत जानेको बिमा तथा तथ्यांक राख्ने घोषणा गरेका थिए । तर उक्त घोषणा कार्यान्वयन भने भएन । ''त्यो निर्णय मन्त्रिपरिषद्ले पनि पारित गर्यो तर तयारीबिनाको निर्णय भएकाले कार्यान्वयन हुन सकेन'', आप्रवासनका विषयमा विद्यावारिधि गरेका गणेश गुरुङले भने, ''सन् १९५० को सन्धिका कारण पनि नेपाल सरकार भारतमा रहेका नेपाली कामदारका विषयमा बोल्न सक्दैन ।''
१९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा दुवै देशका नागरिकलाई एकअर्का देशमा रोजगार तथा व्यापार व्यवसाय गर्न र सहज रूपमा आउजाउ गर्न सक्ने उल्लेख छ । त्यही सन्धिका कारण नेपाली कामदारको कुरा उठाउँदा भारतले नेपालमा रहेका आफ्ना नागरिकका विषयमा पनि कुरा गर्न सक्ने भयले नेताहरू यसतर्फ जान नचाहेको गुरुङको भनाइ छ । ''भारतबाट आउने कामदारलाई पनि उनीहरूको रोजगार र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्छ भनेर सरकार हच्किन्छ'', उनले भने, ''सरकार १९५० को हाउगुजीसँग डराएको छ ।''
वैदेशिक रोजगारीमा तेस्रो मुलुक जाने र भारत जानेको संख्या लगभग बराबरी भएको अनुमान गरिन्छ । तर हालसम्म सरकारले भारत जानेको कुनै तथ्यांक राख्न सकेको छैन । कामका लागि भारत जानेलाई सामान्य परिचयपत्रको व्यवस्थासम्म गरे पनि तथ्यांक संकलनमा सहज हुने गुरुङले उल्लेख गरे । पछिल्लो पटक नेपाल–भारतबीचका असमान सन्धि पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको संयुक्त कार्यदलले आफ्नो सुझाव प्रतिवेदनमा सीमा आवतजावतमा परिचयपत्रको प्रस्ताव राखेको चर्चा छ ।
सरकारले भारतको रोजगारीलाई वैदेशिक रोजगारको मान्यता दिन सके धेरै समस्या समाधान हुने लामो समयदेखि भारततर्फ हुने प्रवासनका विषयमा गैरसरकारी संस्थामा काम गरिरहेका प्रकाशचन्द्र मडैले बताए । उनले तथ्यांक संकलन, बिमा, कामदारको व्यक्तिगत र सामाजिक सुरक्षालगायत समस्या यसबाटै समाधान हुने उल्लेख गरे । यसबाहेक भारतमा लामो समयदेखि बेपत्ता रहेकाहरूको खोजी पनि सुरु गरिनुपर्ने उनले बताए । उनका अनुसार सुदूरपश्चिमका एउटै स्थानीय तहमा ५०/६० जनादेखि एक/डेढ सयसम्म बेपत्ता भएका छन् । लामो समय भारतमा काम गरेर घर फर्किनेको सीप र आम्दानीको सदुपयोगका लागि सरकारले अनुदानसहितका विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।
भारत जाने नेपाली कामदारका विषयमा विद्यावारिधि गरिरहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले कामको खोजीमा भारत गएर लामो समयदेखि बेपत्ता रहेकाहरूको खोजीका लागि सरकारले पहल गर्नुपर्ने बताए । कामको खोजीमा भारत पस्नेको तथ्यांक संकलनका लागि बेलाबेला स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरूले पनि प्रतिबद्धता जनाउने गरेका छन् । प्रदेश सरकारले पनि तथ्यांक संकलनको काम गर्ने भन्दै बजेटसमेत छुट्याएको छ तर हालसम्म काम सुरु हुन सकेको देखिन्न ।
''भारतको रोजगारी व्यवस्थित गर्न सरकारले नीतिगत रूपमै काम गर्नुपर्ने देखिन्छ'', उपप्राध्यापक भट्टले भने, ''भारत काम गर्न जानेलाई पनि वैदेशिक रोजगारीसरह मान्यता दिए समस्या धेरै हदसम्म समाधान हुन्छ ।''
जो वर्षौंपछि फर्किए
भारत गएका कतिपय कामदारचाहिँ बेपत्ता भएको वर्षौंपछि घर फर्केका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९, सिसैयाका गणेश ऐर बेपत्ता भएको २४ वर्ष भइसकेको थियो । सानैदेखि भारतमै रोजगारी गर्ने उनी घर आउजाउ गरिरहन्थे । तर २४ वर्षअघि घरबाट गएदेखि न चिठीपत्र पठाए न त फर्के । घर परिवारले उनी जीवित हुन सक्ने आससमेत मारिसकेको थियो ।
तर अचानक पञ्जावबाट फर्केका एक गाउँलेले गणेशजस्तै व्यक्ति देखेको भनेपछि परिवारमा आशा पलायो । अमृतसरमा गणेशकै गाउँलेले देखेपछि उनी त्यहाँ भएको खबर घर–परिवारले पाएको हो । त्यसपछि जेठो छोरा शेरबहादुर गणेशलाई देख्ने गाउँलेसँगै पञ्जाब पुगे । सोधीखोजी गरेपछि उनलाई भेटे र घर फर्काए ।
घर ल्याउँदा उनलाई बाटोबाटै बाजागाजासहित काँधमा चढाएर स्वागत गरिएको थियो । घरको आँगनमा पुग्दा सुरुमात श्रीमान्–श्रीमतीले समेत एक–अर्कालाई चिन्न सकेनन् । ''दाह्री, जुंगा र लामा रौं पालेर चिन्नै सकिनँ'', २४ वर्षपछि श्रीमान् देख्दाको अवस्था सुनाउँदै गणेशकी जेठी श्रीमती ईश्वरीले भनिन्, ''जब नजिक पुगें, पूरै शरीर हेरेपछि मात्र चिन्न सकें ।'' त्यसपछि दुवैजना अंगालो हालेर रुन थाले । वर्षौंपछि मिलनले हर्षका आँसु बगे । एकातिर बिछोडिएका श्रीमान्–श्रीमतीको मिलन त अर्कोतिर युवा अवस्थामा बिदेसिएका श्रीमान् वृद्ध भएर चिन्नै नसकेको पीडाले दुवैलाई रुवायो ।
२०५१ मा कामको खोजीमा भारत गएका गणेश त्यहीबेलादेखि सम्पर्कविहीन थिए । घरबाट गएकै दिनदेखि बेपत्ता उनी २०७५ जेठ २१ मा फर्किएका हुन् । उनको बारेमा केहि खबर नपाइएपछि दुई/तिन पटक किरिया गर्ने तयारीसमेत गरिएको ईश्वरी बताउँछिन् ।
''उहाँ घर आएको साँझ विवाहको दिनजस्तै डीजे बजाएर नाचगान गर्यौं'', गणेशकी कान्छी श्रीमती नन्दादेवीले भनिन्, ''गाउँलेहरू सबै बेलाएर खानपिन पनि भयो ।'' गणेश घरबाट जाँदा नन्दादेवीबाट जन्मिएका छोरा हरि अढाइ वर्षका थिए । अहिले उनी वैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।
गणेश २०/२२ वर्षकै उमेरदेखि काम खोज्दै भारततिर जान थालेका हुन् । सुरुदेखि नै पञ्जाव क्षेत्रका अमृतसर, लुधियानालगायतका सहरमा उनी मजदुरी गर्थे । भारत पसेदेखि २/४ महिना काम गरेर घर फर्किने र केही दिन घरमा बसेर फेरि काममा फर्किने क्रम चलिरहेको थियो ।
२०५१ मंसिरको महिना थियो । उनले घरबाट जाँदा आफ्नै मालिकको लागि एक/दुई जोर कपडा, एक थान चाइनिज क्यामेरा र क्यामेराको रिल किनेर लगेका थिए । गणेशका अनुसार त्यतिबेला पञ्जाबमा आन्तरिक विद्रोह चलिरहेको थियो । त्यसैले सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।
अमृतसरमा पुग्दा उनको झोला सुरक्षाकर्मीले खोलेर हेर्न थाले । जब त्यहाँ क्यामेरा, रिल र नयाँ लुगा देखे, सोधपुछ गर्न थालिहाले । त्यसपछि उनीसँग ती सामानको बिल मागियो । उनले बिल दिन नसक्दा विदेशी सामान बोक्ने भन्दै गणेशलाई थानामा लगेर राखियो । उनका मालिकले पनि उक्त घटनामा सहयोग गरेनन् । एक/दुई दिन थानामै राखेर अमृतसरको केन्द्रीय कारागारमा पुर्याइएको गणेशको भनाइ छ ।
१५ वर्षसम्म बेपत्ता रहेका सन्तोष रोस्यारालाई चाहिँ फेसबुकले घर फर्किने बाटो देखायो । वेदकोट नगरपालिका–१, हात्तीथलाका उनी १३ वर्षकै उमेरमा गाउँलेसँग भागेर रोजगारीका लागि भारत गएका थिए । कहिले होटल त कहिले गाडीमा काम गर्दै उनी १५ वर्षसम्म घरपरिवारको सम्पर्कबाहिर रहे । परिवारका सदस्यले पनि कति गर्दा पनि उनको अत्तोपत्तो नपाएपछि आशा मारिसकेका थिए ।
एक दिन सन्तोषले यूएईमा बस्ने आफ्ना दाइ हेमराजलाई फेसबुकमा भेट्टाए । अनि आफ्नो फोटो र खबर पठाए । त्यो तस्बिर उता घरमा पनि पुग्यो । सन्तोषकी आमा पार्वती वर्षौंदेखि हराएको छोराको फोटो देखेर रुन थालिन् । त्यसपछि घरपरिवारले पनि सन्तोषसँग कुरा गर्न थाले ।
कुराकानी हुँदै गएपछि अन्ततः सन्तोष घर फर्किन राजी भए । उनका जेठा दाइ दीर्घराज दिल्ली गएर उनलाई दुई महिनाअघि मात्रै घर ल्याएका हुन् ।
''मैले घर फर्किने आस नै मारिसकेको थिएँ'', सन्तोषले भने, ''सानैमा गएकाले कहिले कता, कहिले कता भएर घर आउने बाटो नै बिर्सिसकेको थिएँ ।''
अब कामकै लागि भारत नजाने उनले सुनाए । १५ वर्ष घरपरिवारसँग टाढा रहँदा धेरै दुःख पाएकाले अब गाउँमा कुनै व्यवसाय गर्ने उनको योजना छ । सन्तोषजस्तै हात्तीथलाका करवीरनाथ योगी र करन मल्ल पनि लामो समयपछि घर फर्किएका छन् । तर फर्कनेभन्दा बाहिरै बेपत्ता हुनेको संख्या बढी छ ।
प्रतिक्रिया दिनुहोस